सुनसरी-
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको घटनाका पीडित र सरकारबीच सहमति भएको छ । योसंगै पीडित परिवारको आह्वानमा शुरु भएको प्रदर्शन अन्त्य हुने भएको छ ।
कप्तानगञ्जमा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको हो । घटनाको ५ दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच छैठौं दिन बिहीबार बिहान सहमति भएको हो ।
घटनामा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसंग सम्झौता गर्दै गृह मन्त्रालयले पीडित पक्षले उठाएका विभिन्न माग सम्बोधनमा सहमति जनाएको हो ।
सहमतिअनुसार सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ भने प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ ।
त्यसैगरी, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ । सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक तथा जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।
गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने कार्यक्रम छ ।
