पारस्परिक भाइचारा र सामाजिक सद्‍भाव कायम राख्न दलहरुको अपिल

गोर्खा ड्रिम

Editor
3 days-ago July 29, 2026

काठमाडौँ
सुनसरी घटनाका सम्वन्धमा छलफल गर्न सिंहदरवारमा बसेको सर्वदलीय बैठकले पारस्परिक भाइचारा र सामाजिक सद्‍भाव कायम राख्न अपिल गरेको छ ।
बुधबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि दलहरूले जारी गरेको संयुक्त वक्तव्य र अपिलमा सामाजिक सद्भाव र एकतामा जोड दिइएको छ ।
बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी थिए ।
बैठकले पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।बैठकपछि जारी विज्ञप्तिमा विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व नै नेपालको पहिचान भएको बताउँदै सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकमा अपिल गरिएको छ । आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी रहेको पनि औंल्याइएको छ ।

त्यस्तै बैठकले शान्तिपूर्ण संवाद र सहमतिको आह्वान पनि गरेको छ । ’लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं,’ अपिलमा भनिएको छ ।

ताजा समाचार

View All →