काठमाडौँ-
सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवादलाई लिएर सोमबारदेखि अशान्त बनेको क्षेत्र निरन्तर कर्फ्यु र सुरक्षा निगरानीपछि क्रमशः सामान्य बन्दै गएको छ ।
सुरक्षा परिचालनपछि मुख्य विवादित क्षेत्र कप्तानगञ्ज अशान्तबाट शान्त हुँदै गएको छ । प्रशासनले लगाएको कफ्र्यू आज दिनभर रहने बताएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले अवस्था विस्तारै सामान्य बन्दै गइरहेको जानकारी दिए ।
आज दिउँसो स्थानीय प्रशासनको आह्वानमा दुवै पक्षका अगुवा र धार्मिक अगुवाबीच छलफल हुने भएको छ ।
आइतबार राति दुई समूहबीचको विवाद उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणका लागि चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि देवानगञ्ज तनावग्रस्त बनेको थियो । मंगलबार दिनभर सुरसरीका विभिन्न क्षेत्रमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए ।
सरकारले यस्तो परिस्थितिमा सबैलाई संयमित हुन आग्रह गरेको छ । अवस्था नियन्त्रणमा लिनका लागि प्रशासनले प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेको छ ।