६ असार, काठमाडौं । मानिसको जीवनमा केही यात्राहरू यस्ता हुन्छन्, जसले केवल नयाँ ठाउँको परिचय मात्र गराउँदैनन्, जीवनलाई नयाँ दृष्टिकोण पनि दिन्छन् । हिमालको काखमा अवस्थित लाङटाङ भ्यालीको मेरो ६ दिने यात्रा पनि यस्तै अविस्मरणीय अनुभव बन्यो । प्राकृतिक सौन्दर्य, चुनौतीपूर्ण पदयात्रा, हिमाली संस्कृतिसँगको साक्षात्कार र खेल पर्यटनको उत्साहले भरिएको यो यात्रा आज पनि स्मृतिमा ताजै छ ।
यात्राको सुरुवात एक सामान्य भेटघाटबाट भएको थियो । काठमाडौँको नयाँ बानेश्वरमा फोटो पत्रकार भरतबन्धु थापासँग चिया पिउँदै गफ गरिरहेका बेला उहाँले अचानक सोध्नुभयो, “लाङटाङ जान्छौ ?” मैले पनि कुनै हिचकिचाहट नगरी “हुन्छ” भनें । केही समयपछि गगनराज न्यौपानेको फोन आयो । उहाँले दोस्रो लाङटाङ ट्रेल रनका अवसरमा मिडिया टोलीसँग लाङटाङ जाने जानकारी दिनुभयो । यसरी मेरो लामो समयदेखि मनमा रहेको लाङटाङ पुग्ने चाहना पूरा हुने अवसर जुट्यो ।