काठमाडौँ-
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले गएरातिबाट मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँका दरले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १ सय रुपैयाँ घटाइएको छ ।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २ सय १७ र डिजेल प्रतिलिटर रु २ सय २५ रहेको थियो ।
यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १ सय ९४.५० र डिजेल प्रतिलिटर रु १ सय ९२.५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य १ सय ९४ रुपैयाँ तोकिएको छ ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर १ हजार १ सय र भैरहवाका लागि डलर १ हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।
मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब २ हजार ६० मा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६० रहेको थियो ।