एजेन्सी-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो आक्रमणको योजना तत्कालका लागि स्थगन गरेका छन् । उनले इरानमाथिको तत्काल बृहत् आक्रमणको योजनामा पुनर्विचार गरिएको बताएका छन् ।
शीर्ष सैन्य अधिकारीहरूले तत्काल ठूलो कारबाहीले अमेरिकी सेनाको प्याट्रियट इन्टरसेप्टर मिसाइलहरूको भण्डारलाई द्रुत रूपमा घटाउन सक्ने चेतावनी दिएपछि राष्ट्रपति ट्रम्प पछि हटेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
द न्युयोर्क टाइम्सका अनुसार संयुक्त सैन्य निकाय ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल डान केनले विशाल कारबाहीले मध्यपूर्वमा तैनाथ अमेरिकी सेना र सहयोगीहरूको सुरक्षामा समेत असर पार्न सक्ने भन्दै दोहोरो हानी हुने कार्य तत्कालका लागि लाभदायक नभएका सल्लाह दिएका थिए । अप्रिलको अन्त्यसम्ममा अमेरिकाले १२ सय भन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ । प्याट्रियट इन्टरसेप्टर मिसाइल संयुक्त राज्य अमेरिकाद्वारा विकसित एक अत्याधुनिक, सतहबाट हावामा प्रहार गर्ने एयर डिफेन्स सिस्टम, प्रतिरक्षा प्रणाली हो । यसको मुख्य काम शत्रु पक्षबाट प्रहार गरिएका खतरनाक ब्यालेस्टिक मिसाइल क्रुज मिसाइल र लडाकु विमानहरूलाई आकाशमै पत्ता लगाएर नष्ट गर्नु हो ।
हालै जोर्डनमा तीन अमेरिकी सैनिकको हत्या भएपछि अमेरिकी अधिकारीहरुमा चिन्ता बढेको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणको क्रममा सबै अमेरिकी सुरक्षा घेरा पार गर्दै ब्यालिस्टिक मिसाइलले सैनिकलाई लक्षित गरेर हत्या गरेको बताएपछि इरानी प्रविधिलाई लिएर अमेरिकीहरुमा चिन्ता बढेको छ ।
सैन्य विज्ञहरूले अमेरिकी अपरेसन विस्तार गरियो भने, अमेरिकी सेना, खाडीस्थित सहयोगी र प्रमुख आधारहरू इरानी जवाफी आक्रमणबाट नष्ट हुने जोखिम बढेकाले अमेरिकाले हौसिएर इरानमाथि हमला गर्न नहुने सुझाव दिएका हुन ।
अमेरिकी सैन्य अधिकारीहरुले आक्रामक सैन्य कारबाहीको सट्टा अन्य विकल्प प्रयोग गर्न सुझाव दिएपछि अमेरिकाले व्यापारी बाबेक जन्जानीको सञ्जालसँग सम्बन्धित ९ वटा कम्पनी र ४ जना व्यक्तिमाथि नयाँ प्रतिबन्ध लगाएको छ, जसले इरानमाथि आर्थिक दबाब बढाएको न्यूयोर्क टाइम्सले लेखेको छ।
यद्यपि, आवश्यक परेमा सबै विकल्प खुला रहेको ट्रम्पले बताएका छन्।