काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार हस्तक्षेपकारी भएकाले सबैतिर विनाश निम्त्याउने टिप्पणी गरेका छन् ।
नेपाल खेलकुद महासंघले काठमाडौँमा मंगलबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले खेलकुदमा समेत हस्तक्षेप गरेर सरकारले नेपालको छबि अन्तराष्ट्रिय स्तरमा धुमिल पारेको आरोप लगाएका हुन । उनले अन्तर्राष्टिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्वन गर्नुमा सरकारको हस्तक्षेपकारी भूमिका कारक भएको बताए । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवलसमेत गिराएकाले तत्काल उक्त कार्य फिर्ता लिन माग गरेका छन् ।
अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेप रोक्न भूमिका खेल्न पार्टीका सम्वद्ध पक्षलाई निर्देशन दिए ।
अध्यक्ष ओलीले समस्याको समाधान फेदमा खोज्न छाडेर टुप्पोतिर लम्किएको भन्दै सरकारको आलोचना गरे ।
ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याए । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाई थियो।