काठमाडौं-
राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल परिसरमै सरकारविरुद्ध गतिविधि गर्ने जानकारी पाएपछि उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । उनलाई प्रहरी नियन्त्रणमै भक्तपुरस्थित निवास पु¥याएर छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
प्रसाई झापाबाट काठमाडौं फर्किएका थिए ।
आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा धारणा राख्ने बताएको प्रहरीले जनाएको छ । उनी विमानस्थलमा आइपुग्नासाथ प्रहरी उपरीक्षक भट्टराई नेतृत्वकै टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता उपरीक्षक भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको तर विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि उनलाई नियन्त्रणमा लिएर घरसम्मै पु¥याइएको बताए ।