काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जायोदीबीच बिहीबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।
मन्त्रीद्धयबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार र नवीकरणीय ऊर्जालगायतका आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा विभिन्न क्षेत्रमा सहयोग सुदृढ गर्ने तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा ’सोभरेन वेल्थ फन्ड’ मार्फत लगानी बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री खनालले दुई देशबीचको दिगो मित्रता र बढ्दो सहकार्यमा जोड दिँदै, नेपालका विभिन्न परियोजनाहरूमा युएईको लगानी भित्र्याएर कूटनीतिक सम्बन्ध स्थापनाको आगामी स्वर्ण जयन्ती समारोहलाई एक प्रमुख कोसेढुङ्गाका रूपमा मनाउने नेपाल सरकारको चाहना रहेको बताए ।
मन्त्री खनालले कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भइसकेपछि प्रहरी प्रतिवेदनो थप प्रमाणीकरण गर्नुपर्ने व्यवस्था हटाउन युएई सरकारसँग आग्रह पनि गरेका थिए ।
भेटमा युएईका मन्त्री जायोदीले नेपाल सरकारसंग सहकार्य गर्न युएई इच्छुक र तत्पर रहेको बताएका थिए ।