काठमाडौँ-
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
नेपालका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूसंग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले सरकार उद्यमीसंग सहकार्य गर्न तत्पर रहेको बताए ।
छलफलमा नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले नेपाली गलैँचाको मुख्य बजार अमेरिका र युरोप भए पनि अमेरिकाको नयाँ निमयले निर्यातमा कठिनाइ भएको र व्यवसायीहरू मारमा परेको गुनासो गरेका थिए । उनले अमेरिकाले यही जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’ को प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको, नापतौल विभागको ल्याव पनि जेनजी आन्दोलनमा चलेको छ । त्यसैले अर्को व्यवस्था नभएसम्म एक वर्षको लागि उक्त परीक्षण छुट (ग्रेस पिरेड) पाउन परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन माग गरेपछि प्रधानमन्त्रीले तत्काल समवद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
गलैँचा उत्पादनका लागि बाहिरबाट आउने कच्चापदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ बेलैमा गरिदिन गुरुङले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । । अहिले महिनामा तीनपटक मात्र सर्टिफिकेसनको काम हुँदा व्यवसायीलाई समस्या हुने गरेको बताए । प्रधानमन्त्री शाहले तुरुन्तै ‘क्वरेन्टिन सर्टिफिकेसन’ को काम हप्ताको दुई दिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
उद्यमीहरुबाट उद्योग मन्त्रालय मातहतमै रहने गरी गलैँचा विकास बोर्ड गठनको माग आएपछि प्रधानमन्त्री शाह त्यसमा सकारात्मक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री शाहले कर्णाली र सुदूरपश्चिममा भेडापालन गरेर मासु र ऊन उत्पादनमा जोड दिएका थिए ।