काठमाडौं
विश्व फुटबलको एक महारथी ब्राजिलले एशियाको पावरहाउस मानिने जापानलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
अन्तिम ३२ को खेलमा ब्राजिलले गएराति जापानलाई पराजित गरेको हो । अमेरिकाको ह्युस्टन खेल मैदानमा भएको खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५६ आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २–१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।