एजेन्सी-
पछिल्लो दिनमा अशान्त रहेको पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा प्रहरीमाथि फेरि आक्रमण भएको छ । बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गरेका हुन । घटनापछि आक्रमणकारीका साथै बेपत्ता भएका प्रहरीकोे खोजी कार्य भैरहेकोे छ । अर्धसैनिक बल, प्रहरी र आतङ्कवादविरुद्ध परिचालित सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेका छन् ।
बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले घटनामा नौ प्रहरीको मृत्यु भएको पुष्टि गर्दै मृतकमध्ये विभिन्न प्रहरी चौकीका वरिष्ठ अधिकारीसमेत रहेको जानकारी दिएका छन् । आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशङ्का गरिएको छ ।
खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकार वर्षौंदेखि पृथकतावादी विद्रोह तथा सशस्त्र समूहको गतिविधिसँग जुध्दै आएको छ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको त्यस क्षेत्रमा सुरक्षा निकाय, सरकारी संरचना तथा विदेशी लगानीमा सञ्चालित पूर्वाधार परियोजनामाथि पटक–पटक आक्रमण हुने गरेका छन् ।
पाकिस्तानले सीमावर्ती क्षेत्रमा बढेका उग्रवादी गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित समूहहरू जिम्मेवार रहेको बताएके छ । तर अफगान अधिकारीहरूले त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।