काठमाडौं-
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा भ्रष्टाचार भएको घटनामा विशेष अदालतले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो । असार १६ गतेदेखि शुरु भएको टेरामक्स भ्रष्टारचारको निरन्तर सुनुवाइ सम्पन्न भएपछि विशेष अदालतले सोमबार पूर्वमन्त्री बस्नेतलाई सफाइ दिएको फैसला सुनाएको हो।प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहति प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई कैद सजाय सुनाएको छ ।
प्राधिकरणका अन्य कर्मचारीलाई पनि प्रतिवादी बनाइएकाृमा उनीहरुलाई विशेषले सफाइ दिएको हो ।निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाइएको थियो।
यस्तै, प्राधिकरणका निर्देशकहरू सुरेन्द्रलाल हाडा तथा दिपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारीलाई पनि प्रतिवादी बनाइएको थियो। उनीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरिएको थियो।