ह्वात्तै बढ्यो डेङ्गु 

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026
काठमाडौं-
पानी पर्न थालेपछि पछिल्लो एक सातामै डेङ्गु रोगबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो ६ दिनमै ६३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले आवश्यक सर्तकता अपनाउन सबैमा अनुरोध गरेको छ ।  अहिले दैनिकजस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा सङ्क्रमण बढ्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गुबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने सुझाव दिनुभयो ।
कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।

ताजा समाचार

View All →