एजेन्सी,
विश्वभर गर्मी अत्यधिक भएको छ । कतिपय मुलुकमा अधिक गर्मीका कारण ठूलो संख्याका मानिसले मृत्युवरण गर्न थालेको सम्वन्धित मुलुकहरुले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अत्यधिक गर्मीका कारण मानवीय मृत्युको संख्या बढ्दै गएको र अझै सयौँको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।
पछिल्लो २ दिनमा यूरोपमा अझै गर्मी अधिक बढेको छ । तापक्रमका यसअघिका धेरै वटा रेकर्ड तोडिएका छन् । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा पनि तापक्रमका नयाँ रेकर्ड दर्ता भएका छन्। यो तीव्र गर्मीको लहर पूर्वी युरोपतिर फैलिँदै छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानम गेब्रियससले जुन २१ देखि युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ४ सय बढी थप मृत्यु रेकर्ड गरिएको बताएका छन् ।
टेड्रोसले चेतावनी दिँदै अगाडि लेखेका छन्, ‘युरोप पृथ्वीमा सबैभन्दा छिटो तापक्रम बढ्ने महादेश हो, जहाँ तापक्रम औसतभन्दा दोब्बरले बढिरहेको छ ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले १ हजार २ सय बढी मानिसको यसपाली गर्मीबाट मृत्यु भएको जानकारी दिएको छ ।
जसमा धेरैजसो ६५ वर्ष र सोभन्दा माथिका व्यक्ति थिए । अधिकारीहरुका अनुसार घरमै हुने मृत्युको संख्या ४० प्रतिशतले बढेको छ ।