काठमाडौं-
मधेशकेन्द्रित दलका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् । उनले जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सच्चिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकारका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
वक्तव्य जारी गर्दै महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलताभन्दा पुरानै निरंकुश सोचलाई निरन्तरता दिएको आरोप लगाए । उनले सरकारलाई असंवेदनशील व्यवहार, नियुक्तिमा देखिएको असमावेशिता तथा अधिनायकवादी कार्यशैली तत्काल सच्याउन आग्रह गरे ।
महतोले हालैको जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र परिवर्तनको चाहनाको अभिव्यक्ति भएकाले उनले सय दिनमै सबै अपेक्षा पूरा हुन नसके पनि सरकारको कार्यदिशा भने सुधारात्मक हुनु पर्ने बताए ।