शेरबहादुर देउवाका छोरा जयवीरमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान

गोर्खा ड्रिम

Editor
25 days-ago July 7, 2026

काठमाडौं-
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निवर्तमान काँग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि अनुसन्धान अघि बढाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देश दिएको छ । जयवीरले आर्जन गरेको धन गैरकानूनी रहेको र सोही धन विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गरेको आशंकामा उनीमाथि छानविन अघि बढाइएको विभागले जनाएको छ ।

विभागद्वारा जारी सूचनामा डडेलधुरा जिल्ला साबिक आसिग्राम गाविस वडा नं ५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम उपस्थित हुन भनिएको छ ।

विभागले उनीसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा हाजिर हुन म्याद दिएको हो ।

जयवीरको नाममा रहेका केही व्यावसायिक कम्पनीहरू र त्यसमा भएको लगानीको स्रोत नखुलेपछि विभागले उनीमाथि निगरानी बढाएको थियो । साथै विवादास्पद व्यवसायी दिपक भट्टसँग पनि उनको व्यवसायीक सम्बन्ध रहेकाले विभागले उनिमाथि निगरानी बढाएको र हाल अनुसन्धानका लागि उपस्थित हुन सुचना जारी गरेको विभाग स्रोतले जनाएको छ । व्यवसायी भट्ट र उनका साझेदार सुलभ अग्रवाल भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

विभागले यसअघि पनि उनलाई सम्पर्क गर्ने प्रयास गरेको  र उनी  सम्पर्कमा नआएका कारण सार्वजनिक सूचना नै जारी गर्नुपरेको विभाग ले जनाएको छ ।उनी हाल बेलायतमा रहेको बताइएको छ ।

विभागले तोकिएको म्यादभित्र जयवीर उपस्थित नभएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग गरेको मानिने र यसले कानुनी जटिलता थप बढाउन सक्ने प्रावधान रहेको छ ।

ताजा समाचार

View All →