विराटनगर-
विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् ।
सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो । सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो ।
नेपाल विद्युत् प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजे लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो । तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारीको ज्यान गएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको स्कोरपिओ राति करिब ११ः४० बजे आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।