पहिरोले मेची राजमार्ग अवरुद्ध

गोर्खा ड्रिम

Editor
19 days-ago July 13, 2026

इलाम-
निरन्तरको वर्षाले मेची राजमार्ग अवरुद्ध भएको छ । त्योसंगै झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

“गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि बन्द भएको छ”, उनले भनिन् “केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट यातायात सञ्चालन हुन सकेको छैन ।”

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको जानकारी दिएका छन् । जोगमाई र पुवाखोलामा बेलीब्रिज जडानको तयारी रहे पनि भारतबाट सामग्री र प्राविधिक आउने मिति अझै निश्चित नभएकाले तत्काल समाधान हुने अवस्था नरहेको उनले बताए ।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

ताजा समाचार

View All →