निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह- निर्माण क्षेत्रलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाऔं

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

काठमाडौं-
प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा प्रधानमन्त्रीले निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।
उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको पनि बताए ।
निर्माण व्यवसायलाई सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिएका थिए ।
निर्माण व्यवसायीका प्रतिनिधिहरुले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरुले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन् ।

ताजा समाचार

View All →