एमाले पूर्वसांसद कोइरी पक्राउ

गोर्खा ड्रिम

Editor
29 days-ago July 3, 2026

महोत्तरी- नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

महोत्तरीको गौशाला–२ का बासिन्दा कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गर्नुभयो ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो । कोइरी यसपालि पराजित हुनुभयो ।

नेकपा (एमाले)को मधेस प्रदेश कमिटी सदस्य रहनुभएका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ । सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उहाँलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

ताजा समाचार

View All →