लहान-
आफ्नै स्कूलको बसले किच्दा बालिका र सहचालकको मृत्यु भएको छ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।
पायोनियर एजुकेसन एकेडेमीको को १ ख ३५९९ नम्बरको बसले किच्दा सहचालक लहान नगरपालिका–२२ बस्ने २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी ५ वर्षीया समीक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको अवस्थामा बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले दुवै जनालाई किचेको थियो ।
दुर्घटनापछि फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुर पतारको नियन्त्रणमा छ ।