काठमाडौं
विश्वकप फुटबल अन्तर्गत् गएरातिदेखि आज बिहानसम्म भएका ३ वटा खेलमा अर्जेन्टिना, इजिप्ट र कोलम्बिया अन्तिम १६ मा पुगेका छन् ।
अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नवप्रवेशी केप भर्डेमाथि जितका लागि साविक विजेता अर्जेन्टिनाले निकै संघर्ष गर्नुपर्यो । एक आत्मघाती गोल उपहारमा पाएको अर्जेन्टिनाले अमेरिकाको मियामी खेलमैदानमा निकै गाह्रो गरी जित आफ्नो हातमा पारेको हो ।
खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गरे । त्यसपपछि थप गरिएको अतिरित्त समयको ११औँ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए । तर खेलको १ सय ११औँ मिनेटमा केप भर्डेका खेलाडी डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको हो ।
त्यसैगरी, अष्ट्रेलियालाई हराउँदै इजिप्टले पहिलोपटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।
अन्तिम–३२ को १–१ मा निर्धारित समय र थप समयको खेलमा नतिजाका लागि भएको पेनाल्टी सुटआउटमा इजिप्टले ४–२ को नतिजा निकालेको हो ।
आज बिहानै भएको अर्को खेलमा घानालाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको हो ।