काठमाडौं-
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् ।
संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने बताए ।्््
महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यमार्फत् सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रहरी महानिरीक्षक कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गर्दै आएको भूमिकाको चर्चा गरे । उनले विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास पनि व्यक्त गरे । महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानूनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।