काठमाडौं-
नेपाल सरकारले एसियाली विकास बैंक (एडिबी) संग १६ करोड ५० लाख अमेरिकी डलर अर्थात् २५ अर्बबढी नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिनेसम्वन्धी सम्झौता भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपाल सरकार र एडिबीबीच दुईवटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो । उक्त सहुलियत पूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’ का लागि ११ करोड ५० लाख अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि ५ करोड अमेरिकी डलर परिचालन गरिनेछ ।
त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले नेपालको दिगो विकासमा एडिबीसंगको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे भने एडीबीका अध्यक्ष कान्डाले नेपालसँगको छ दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक सधैँ तयार रहेको बताएका थिए ।