काठमाडौं-
अब सबै प्रदेशमा वामपन्थी सरकार बन्ने भएको छ ।
नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनबारे तीन बुँदे सहमति भएपछि यी दुई दलले सबै प्रदेशमा सरकार बनाउनेछन् । दुई दललाई सहज बहुमत पुग्ने प्रदेशमा भागवण्डा गरिसकेका छन् भने बहुमत नपुग्ने मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गरी तय गर्ने सहमति गरेका छन् । अब बहुमत भएका कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने छन् । यी पाँच वटा प्रदेशमा सरकार गठनको गृहकार्य नै भैसकेको दुवै दलका नेताहरुले बताएका छन् ।
यसअघि शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि साथै रहेका थिए ।
यसअघि प्रदेश सरकारमा काँग्रेससंग सहकार्यमा रहेको एमालेले काँग्रेससंग सहकार्य भत्काएर नेकपासंग सहकार्य अघि बढाएको हो ।
