धनगढी-
सुदूरपश्चिम प्रदेश सरकारले कृषि कर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पु¥याएको प्रदेशका चार कृषकलाई पुरष्कृत गरेको छ । प्रदेश सरकारले स्थापना गरेको ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट नौगाड गाउँपालिका–२, दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका–२, कैलालीका मनोज खनाल, चुरे गाउँपालिका–१, कैलालीकी रिताकुमारी देउवा र वेदकोट नगरपालिका–५, कञ्चनपुरका कलुवा कामी पुरष्कृत भएका हुन ।
धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जनही रुपैयाँ ७५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन । पुरष्कृत कृषकमध्ये वेदकोटका कामीले तीन बिघामा तथा दार्चुलाका सितोलीले १५ रोपनी जग्गामा कृषि कार्य, कैलालीकी देउवाले फलफूलखेती र सुन्तला उत्पादन तथा घोडाघोडीका खनालले व्यावसायिक रुपमा १७ बिघामा माछापालन गरिरहेका छन् ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले असार १५ गते जिल्ला तथा आर्थिक वर्षभित्र जिल्लामा छनोट भएका उत्कृष्ट कृषकमध्येबाट प्रदेश तहमा पुरस्कृत गरिँदै आएको जानकारी दिएका छन् ।