पोखरा-
गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई हिजो नगदसहित सम्मान गरेको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।
यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका–१ को सहारा कृषि फार्मका सञ्चालक गमबहादुर कुँवर पुरस्कृत हुनुभयो ।
यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौलाकालिका कृषि फार्मका सञ्चालक निर्मल भट्टराई, पोखरा–१४ को रोशन एण्ड रोहित कृषि फार्मका सञ्चालक रमेश खनाल र तनहुँ व्यास नगरपालिका–१० का दाजुभाई गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना सम्मानित हुनुभयो ।
यसैगरी, खिलुङ कालिका अर्गानिक कृषि फार्म भिरकोट नगरपालिका–७ स्याङ्जाका शालिग्राम अर्याल र नीलगिरि पशुपन्छी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित हुनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।