हेटौंडा-
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटिया स्थित शिवम् फ्याक्ट्री नजिकको कर्रा खोलामा सोमबार बिहान आएको बाढीले ट्रक बगाएको छ ।
सिमेन्ट फ्याक्ट्रीमा ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रक कल्भर्टमाथि पानीको बहाव बढेपछि बगाएको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जानकारी दिएको छ
प्रहरीका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ पौडी खेलेर सुरक्षित रूपमा बाहिर निस्किएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको र चौघडास्थित राजु मेडिकलमा उपचार गरिएको प्रहरीले बताए।
घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। घटनामा अन्य कुनै मानवीय क्षति नभएको तथा बगेको ट्रक हाल खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
