भोटेकोशी बाढीः हालसम्म भेटिएका शव १३ सय ५७  

गोर्खा ड्रिम

Editor
7 days-ago September 8, 2026
काठमाडौँ-
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १३ सय ५७ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म जम्मा १ सय २ शवको सनाखत भई परिवारले बुझेका छन् । बाढीपछि ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको  प्राधिकरणले जनाकारी दिएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५ सय ८३ जनाको उद्धार गरिएको  र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन । तीमध्ये विभिन्न १० अस्पतालमा ३ सय २७, नेपाली सेनामार्फत ३ हजार ४ सय ४ र सशस्त्र प्रहरी बलमार्फत ३ हजार ९६ जनाको उपचार गरिएको हो ।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको प्राधिकरणले जनाएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।
उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् ।
सरकारले रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।
प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ ।
बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ ।

ताजा समाचार

View All →