काठमाडौँ-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी र त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीपछिको अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताएका छन ।
बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत क्षेत्रमा भएको क्षतिबारेको स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आइतबार बुझ्दै अध्यक्ष ओलीले उद्धार र राहतका साथै पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री ओलीले विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड दिँदै विपत्तिका नाममा राजनीतिक लाभ वा श्रेयय लिने प्रयास र होडबाजी नगर्न सबै पक्षलाई आग्रह पनि गरे ।
महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरेको बताउँदै उनले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले प्रदेश इञ्चार्ज महेश बस्नेतकै नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनःस्थापनाका काममा समन्वय गर्न पनि सुझाव दिए ।