सिन्धुपाल्चोक-
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६ सय ७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए । चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो ।
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई यही भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो । सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते १ सय १४ जना, भदौ १९ गते १ सय ५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १ सय ५ जना, भदौ २२ गते १ सय ६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएका हुन् ।